सीधै सामग्रीमा जाने

के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?

के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?

बाइबलको जवाफ

 होइन। अक्सर मानिसहरू यसो भन्‍ने गर्छन्‌: “रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो।” तर बाइबलले पैसा हानिकारक हो अथवा पैसा नै सबै नराम्रो कुराको जड हो भनेर पनि बताउँदैन। वास्तवमा बाइबल यसो भन्छ: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।” a१ तिमोथी ६:१०, पवित्र बाइबल (RV), गाढा अक्षर हाम्रो।

 बाइबलले पैसाबारे के बताउँछ?

 बुद्धिमानीपूर्वक पैसा चलाउँदा त्यो उपयोगी हुन्छ र त्यसले “सुरक्षा” पनि दिन्छ भनेर बाइबल बताउँछ। (उपदेशक ७:१२) साथै बाइबलले मन खोलेर दिने मानिसहरूको प्रशंसा गर्छ, जस्तै, उपहारस्वरूप पैसा दिँदा।—हितोपदेश ११:२५.

 अर्कोतर्फ बाइबलले पैसा कमाउनुलाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाउनदेखि होसियार गराउँछ। बाइबल यसो भन्छ: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।” (हिब्रू १३:५) यसबाट हामी पैसालाई बढ्‌तै महत्त्व दिँदै त्यसको पछि लाग्नु हुँदैन भन्‍ने पाठ सिक्न सक्छौँ। बरु खाने, लाउने र बस्नेजस्ता भौतिक आवश्‍यकताहरू पूरा हुँदा त्यसमै सन्तुष्ट हुन सिक्नुपर्छ।—१ तिमोथि ६:८.

 बाइबलले किन पैसालाई प्रेम नगर्न चेतावनी दिन्छ?

 लोभी मानिसहरूले अनन्त जीवन पाउनेछैनन्‌। (एफिसी ५:५) किनकि लोभ गर्नु भनेको एक किसिमको मूर्तिपूजा वा झूटो उपासना हो। (कलस्सी ३:५) साथै लोभी मानिसहरू आफूले चाहेको कुरा हरहालतमा पाउन सही कुराहरूलाई बेवास्ता गर्छन्‌। “रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन” भनेर हितोपदेश २८:२० मा बताइएको छ। तिनीहरू लोभको कारण डर-धम्की, जालसाजी, अपहरण वा हत्याजस्ता अपराध गर्ने हदसम्म पनि पुग्न सक्छन्‌।

 पैसाको प्रेमले खराब काम गर्न नलगाए तापनि त्यसले नकारात्मक नतिजाहरू भने निम्त्याउन सक्छ। बाइबल यसो भन्छ, “जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌।”—१ तिमोथि ६:९.

 बाइबलमा पैसाबारे दिइएको सल्लाहबाट हामी कसरी लाभ उठाउन सक्छौँ?

 हामीले पैसाको लागि नैतिक अनि आध्यात्मिक मूल्यमान्यतासित सम्झौता गरेनौँ भने हामीले आत्म-सम्मान गुमाउने छैनौँ। साथै परमेश्‍वरको अनुग्रह र साथ पनि पाउनेछौँ। मनैदेखि परमेश्‍वरलाई खुसी पार्न चाहनेहरूसित उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” (हिब्रू १३:५, ६) उहाँ हामीलाई यस्तो आश्‍वासन पनि दिनुहुन्छ “वफादार मानिसले प्रशस्त आशिष्‌ पाउँछ।”—हितोपदेश २८:२०.

a यस पदलाई यसरी पनि अनुवाद गरिएको छ: “पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो।”