सीधै सामग्रीमा जाने

के परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्नुहुन्छ?

के परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्नुहुन्छ?

बाइबलको जवाफ

 हो, उहाँ बदल्नुहुन्छ। मानिसहरूको व्यवहारअनुसार परमेश्‍वरले आफ्नो मन बदल्नुहुन्छ। उदाहरणको लागि, परमेश्‍वरले पुरातन इस्राएलीहरूलाई न्यायको सन्देश दिनुहुँदा यस्तो भन्‍नुभयो: “सायद त्यो सुनेर तिनीहरू हरेक आफ्नो-आफ्नो दुष्ट चालदेखि फर्कला, र तिनीहरूको दुष्टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउने मेरो मन म बद्‌लनेछु।”—यर्मिया २६:३.

 केही बाइबल अनुवादमा हेर्ने हो भने यो पदमा ‘मेरो मन म बद्‌लनेछु’-को ठाउँमा ‘म अफसोस मान्‍नेछु’ भनी लेखिएको छ। खरर्र पढ्‌दा परमेश्‍वरबाट पनि गल्ती हुन सक्छ भन्‍ने भान पर्न सक्छ। तर मूल हिब्रू शब्दले ‘मन अथवा विचार परिवर्तन गर्ने’ कुरालाई पनि बुझाउँछ। एक जना प्राध्यापकले यस्तो लेखे: “मानिसले आफ्नो आचरणमा परिवर्तन गर्दा परमेश्‍वरले आफ्नो न्याय परिवर्तन गर्न सक्नुहुन्छ।”

 परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्न सक्नुहुन्छ भन्दैमा उहाँलाई त्यसो गर्नै पर्छ भन्‍ने कुनै बाध्यता छैन। परमेश्‍वरले आफ्नो मन परिवर्तन नगर्नुभएको केही परिस्थिति विचार गरौं:

  •   बालाकको कुरा सुनेर परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्नुभएन र इस्राएल राष्ट्रलाई सराप दिनुभएन।—गन्ती २३:१८-२०.

  •   इस्राएलका राजा शावलले थुप्रै नराम्रा कामहरू गरेका थिए। त्यसैले परमेश्‍वरले तिनलाई राजाको रूपमा इन्कार गर्नुभयो। त्यसपछि उहाँले फेरि कहिल्यै आफ्नो मन बदल्नुभएन।—१ शमूएल १५:२८, २९.

  •   परमेश्‍वरले आफ्नो छोरालाई सदाको निम्ति पूजाहारी बनाउने प्रतिज्ञा पूरा गर्नुहुनेछ। परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्नुहुनेछैन।—भजन ११०:४.

बाइबलले परमेश्‍वर कहिल्यै परिवर्तन हुनुहुन्‍न भनेर बताउँछ, होइन र?

 हो, बाइबलमा परमेश्‍वरले यस्तो भन्‍नुभएको छ: “म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ।” (मलाकी ३:६) साथै बाइबलमा “सरिरहने छायाजस्तो [परमेश्‍वर] परिवर्तन भइरहनुहुन्‍न” भनेर पनि बताइएको छ। (याकूब १:१७) परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्ने कुरासँग यो बाझिदैन। कसरी? परमेश्‍वरको व्यक्‍तित्व अनि प्रेम र न्यायको स्तर कहिल्यै परिवर्तन हुँदैन। (व्यवस्था ३२:४; १ यूहन्‍ना ४:८) उहाँले मानिसहरूलाई भिन्‍नाभिन्‍नै समयमा भिन्‍नाभिन्‍नै निर्देशन दिन सक्नुहुन्छ। उदाहरणको लागि, राजा दाऊदलाई विचार गरौं। परमेश्‍वरले तिनलाई लगातार दुईवटा युद्धमा फरक-फरक निर्देशन दिनुभयो। सुरुको युद्धमा दिइएको निर्देशन र दोस्रो युद्धमा दिइएको निर्देशन ठ्याक्कै उल्टो थियो। तर पनि दुवै युद्धमा सफलता हासिल भयो।—२ शमूएल ५:१८-२५.

के मानिसजातिलाई सृष्टि गरेकोमा परमेश्‍वर पछुताउनुभयो?

 अहँ, पछुताउनु भएन। तर मानिसले उहाँलाई त्याग्दा वा इन्कार गर्दा उहाँलाई दुःख लाग्छ। नूहको समयमा पृथ्वीको अवस्था देखेर परमेश्‍वरले कस्तो महसुस गर्नुभयो? बाइबलमा यस्तो लेखिएको छ: “पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयो।” (उत्पत्ति ६:६) यस पदमा प्रयोग गरिएको “अफसोस” भन्‍ने शब्द “मन परिवर्तन हुनु” भन्‍ने हिब्रू शब्दबाट आएको हो। नूहका समयका मानिसहरू दुष्ट भएकोले परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्नुभएको थियो। (उत्पत्ति ६:५, ११) मानिसहरूले खराब बाटोमा हिंड्‌ने छनौट गर्दा परमेश्‍वरलाई दुःख लागेको थियो तर पनि पूरै मानिसजातिप्रतिको उहाँको दृष्टिकोणचाहिं परिवर्तन भएको थिएन। त्यसैले नूहको जलप्रलयमा नूह र उनको परिवारलाई जोगाएर उहाँले मानिसजातिप्रति माया देखाउनुभयो।—उत्पत्ति ८:२१; २ पत्रुस २:५, ९.