सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई बोर लाग्दा के गर्ने?

छोराछोरीलाई बोर लाग्दा के गर्ने?

 तपाईँको छोराछोरी दिनभरि घरमै बस्नुपरेको छ र गर्नको लागि केही छैन। उसले भन्छ, ‘कस्तो बोर लाग्यो!’ उसलाई टिभी हेर्न वा आफूलाई मनपर्ने भिडियो गेम खेल्न भन्‍नुअघि यी कुराहरू विचार गर्नुहोस्‌।

छोराछोरीलाई बोर लाग्दा—केही आमाबुबाले के याद गरेका छन्‌?

  •   मनोरञ्जनको किसिम र त्यसमा बिताउने समयले समस्या झनै बढाउन सक्छ। रोबर्ट नाम गरेका बुबा यसो भन्छन्‌: “धेरै टिभी हेर्ने अथवा भिडियो गेम खेल्ने केही केटाकेटीलाई दिनहुँ गर्नुपर्ने कामहरू त्यत्ति रमाइलो नलाग्न सक्छ।”

     यस कुरामा सहमत हुँदै तिनकी श्रीमती बार्बरा यसो भन्छिन्‌: “वास्तविक जीवनमा कुनै काम गर्न धेरै सोच्नुपर्ने हुन्छ र मेहनत पनि चाहिन्छ अनि त्यसको नतिजा रातारात नदेखिन सक्छ। यो कुरा धेरै टिभी हेर्ने अथवा भिडियो गेम खेल्ने केटाकेटीका लागि एकदमै पट्टाइलाग्दो हुन्छ।”

  •   सामाजिक सञ्जालमा धेरै समय बिताउँदा आफैबारे नराम्रो महसुस हुन सक्छ। साथीहरूले रमाइलो गरिरहेको फोटो र भिडियोहरू हेर्दा तपाईँको छोराछोरीलाई आफ्नो जीवन खल्लो लाग्न सक्छ। बेथ नाम गरेकी किशोरी यसो भन्छिन्‌, “‘सबै जना रमाइलो गरिरहेका छन्‌, म मात्रै घरमा बस्नुपरेको छ’ भन्‍ने सोचाइ सजिलै आउन सक्छ।”

     साथै सामाजिक सञ्जालमा घण्टौँ समय बिताएपछि आखिरमा खोक्रो महसुस हुन सक्छ र अझै पनि बोर लाग्न छोड्‌दैन। क्रिस नाम गरेका एक युवक यसो भन्छन्‌, “यसले तपाईँलाई केही बेर त भुलाउला तर तपाईँलाई फाइदा भने केही हुँदैन।”

  •   छोराछोरीलाई बोर लाग्दा त्यसलाई अवसरमा बदल्न सकिन्छ। केटाकेटीलाई बोर लाग्दा उनीहरूले सृजनात्मक हुने मौका पाउँछन्‌ भनेर क्याथरिन नाम गरेकी एक आमा बताउँछिन्‌। उदाहरणको लागि, तिनी भन्छिन्‌: “केटाकेटीले एउटा साधारण बाकसलाई गाडी, डुङ्‌गा अथवा हवाईजहाजको रूपमा कल्पना गर्न सक्छन्‌ वा त्यही बाकसमा आफूलाई मनपर्ने सरसामानहरू सँगालेर राख्न सक्छन्‌। अथवा टेबुलमा ब्ल्याङ्‌केट बिछ्याएर आफू टेन्टभित्र भएको कल्पना पनि गर्न सक्छन्‌।”

     मनोवैज्ञानिक सेरी टर्केलले बोर लाग्दा त्यसलाई “आफ्नो कल्पनाशक्‍ति प्रयोग गर्ने मौका”-को a रूपमा हेर्नुपर्छ भनेर बताइन्‌। बोर लाग्दा त्यो समयलाई त्यत्तिकै खेर नफाल्नुहोस्‌। “व्यायाम गर्दा मांसपेशी कसिलो भएझैँ बोर लाग्दा आफ्नो कल्पनाशक्‍ति प्रयोग गर्नुभयो भने तपाईँ अझै सृजनात्मक हुनुहुनेछ।” b

 निष्कर्ष: छोराछोरीलाई बोर लाग्दा त्यसलाई समस्याको रूपमा होइन, बरु उनीहरूलाई सृजनात्मक हुन मदत दिने अवसरको रूपमा हेर्नुहोस्‌।

छोराछोरीलाई बोर लाग्दा—तपाईँ के गर्न सक्नुहुन्छ?

  •  अवस्थाले दिन्छ भने छोराछोरीलाई बाहिर गएर खेल्न दिनुहोस्‌। अगाडि उल्लेख गरिएकी बार्बरा यसो भन्छिन्‌: “घामको न्यानो किरण र ताजा हावाले स्फूर्ति प्रदान गर्छ। हाम्रा छोराछोरी बाहिर खेल्न थालेदेखि उनीहरूले आफ्नो कल्पनाशक्‍ति अझ प्रयोग गर्न थाले।”

     बाइबलको सिद्धान्त: “सबै कामको लागि उचित समय छ, ... हाँस्ने एउटा समय [र] उफ्रने एउटा समय।”—उपदेशक ३:१,, फुटनोट।

     यसबारे सोच्नुहोस्‌: छोराछोरीलाई घरबाहिर गरिने गतिविधिमा सहभागी गराउन म के गर्न सक्छु? घरबाहिर गएर खेल्न सम्भव छैन भने केटाकेटीहरू घरभित्रै बसेर कस्ता सृजनात्मक गतिविधिमा भाग लिन सक्छन्‌?

  •   छोराछोरीलाई अरूबारे पनि सोच्न मदत गर्नुहोस्‌। लिलियन नाम गरेकी आमा यस्तो सुझाव दिन्छिन्‌: “कोही वृद्ध दाइदिदीलाई आँगन सफा गर्न मदत दिनुहोस्‌ अथवा उहाँहरूको लागि केही पकाएर उहाँहरूलाई भेट्‌न जानुहोस्‌। अरूको लागि केही गरिदिँदा साँचो आनन्द पाउन सकिन्छ।”

     बाइबलको सिद्धान्त: “मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ अनि जसले अरूलाई स्फूर्ति दिन्छ, ऊ आफैले पनि स्फूर्ति पाउँछ।”—हितोपदेश ११:२५.

     यसबारे सोच्नुहोस्‌: अरूको लागि केही गरिदिँदा पाइने आनन्द महसुस गर्न तपाईँ छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

  •   उदाहरण बसाल्नुहोस्‌। तपाईँ आफ्नो दैनिक जीवनबारे जसरी कुरा गर्नुहुन्छ, त्यसले छोराछोरीलाई असर गर्न सक्छ। सारा नाम गरेकी एक आमा यसो भन्छिन्‌: “तपाईँले आफ्नो जीवन खल्लो छ भन्‍ने भान पर्नेगरि कुरा गर्नुभयो भने तपाईँका छोराछोरीलाई पनि आफ्नो जीवन त्यस्तै लाग्न सक्छ। जब हामी जीवनप्रति सकारात्मक दृष्टिकोण राख्छौँ, तब छोराछोरीले पनि त्यसै गर्न सिक्छन्‌।”

     बाइबलको सिद्धान्त: “हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।”—हितोपदेश १५:१५.

     यसबारे सोच्नुहोस्‌: म आफ्नो छोराछोरीको अगाडि आफ्नो दिनचर्याबारे कसरी कुरा गर्छु? बोर लाग्दा मैले के गरिरहेको तिनीहरूले देख्छन्‌?

 सुझाव: छोराछोरीलाई सृजनात्मक गतिविधिको सूची बनाउन मदत गर्नुहोस्‌। एलिसन नाम गरेकी आमा यसो भन्छिन्‌, “हाम्रो घरमा एउटा सुझाव पेटी छ, जसमा परिवारका सबैले आफ्नो विचार लेखेर खसाल्न सक्छन्‌।”

a रिक्लेमिङ कन्भर्सेसन भन्‍ने किताबबाट लिइएको।

b डिस्कनेक्टेड भन्‍ने किताबबाट लिइएको।