सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“उहाँहरू मैले सत्य राम्ररी बुझेर स्विकारेको चाहनुहुन्थ्यो”

“उहाँहरू मैले सत्य राम्ररी बुझेर स्विकारेको चाहनुहुन्थ्यो”
  • जन्म मिति: सन्‌ १९८२

  • जन्मस्थान: डोमिनिकन गणतन्त्र

  • विगतमा: मोर्मोन परिवारमा हुर्केको

मेरो विगत:

म डोमिनिकन गणतन्त्रको सान्तो डोमिङ्‌गोमा हुर्किएँ। चार छोराछोरीमध्ये म कान्छो हुँ। मेरा आमाबुबा पढेलेखेको हुनुहुन्थ्यो र हामीलाई राम्रो सामाजिक वातावरणमा हुर्काउन चाहनुहुन्थ्यो। उहाँहरूले म जन्मनुभन्दा चार वर्षअघि मोर्मोन मिसनरीहरूलाई भेट्‌नुभयो। तिनीहरूको सफा पहिरन र राम्रो आनीबानी देखेर उहाँहरू प्रभावित हुनुभयो। त्यसैले मेरा आमाबुबाले हाम्रो परिवार मोर्मोन चर्चका सदस्य हुने निर्णय गर्नुभयो। त्यतिबेला डोमिनिकन गणतन्त्रमा चर्चका सदस्यहरू धेरै थिएनन्‌।

हुर्कँदै जाँदा मलाई चर्चका सामाजिक गतिविधिहरू रमाइलो लाग्यो र त्यहाँ पारिवारिक जीवन अनि नैतिक स्तरहरूबारे सिकाइने कुराहरूको म कदर गर्थेँ। मलाई आफू मोर्मोन भएकोमा गर्व लाग्थ्यो र मैले मिसनरी बन्‍ने लक्ष्य राखेँ।

म १८ वर्षको हुँदा राम्रो विश्‍वविद्यालयमा मेरो पढाइ अघि बढाउन हामी अमेरिका सऱ्‍यौँ। त्यसको एक वर्षपछि मेरी सानीआमा र उहाँको श्रीमान्‌ हामीलाई भेट्‌न फ्लोरिडा आउनुभयो। उहाँहरू यहोवाका साक्षीहरू हुनुहुन्थ्यो। उहाँहरूले हामीलाई अधिवेशनको निम्तो दिनुभयो। मेरो वरिपरि सबैले शास्त्रपदहरू पल्टाउँदै हेरेको र टिपोट गरेको देखेर म प्रभावित भएँ। त्यसैले मैले पनि कपी र कलम मागेँ अनि त्यसै गर्न थालेँ।

अधिवेशनपछि मेरी सानीआमा र उहाँको श्रीमान्‌ले म मिसनरी बन्‍न चाहेकोले मलाई बाइबलको कुरा सिक्न मदत गर्ने कुरा बताउनुभयो। मलाई उहाँहरूको कुरा ठीक लाग्यो किनकि मैले मोर्मोनको पुस्तक त राम्ररी अध्ययन गरेको थिएँ तर बाइबल भने खासै पढेको थिइनँ।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

फोनबाट बाइबलबारे छलफल गर्दा मेरी सानीआमा र उहाँको श्रीमान्‌ले मलाई सधैँ आफ्नो विश्‍वास बाइबलको शिक्षासित मेल खान्छ कि खाँदैन भनेर जाँच्न प्रोत्साहन दिनुहुन्थ्यो। उहाँहरू मैले सत्य राम्ररी बुझेर स्विकारेको चाहनुहुन्थ्यो।

म मोर्मोन धर्मका थुप्रै कुरामा विश्‍वास राख्थेँ। तर ती कुराहरू बाइबलसित मेल खान्छ कि खाँदैन भनेर चाहिँ बुझेको थिइनँ। सानीआमाले मलाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित नोभेम्बर ८, १९९५ को ब्यूँझनुहोस्‌! पत्रिका पठाउनुभयो, जसमा मोर्मोनहरूको विश्‍वासबारे चर्चा गरिएको थियो। मोर्मोन धर्मबारे कत्ति धेरै कुरा मैले बुझेकै रहेनछु भनेर थाह पाउँदा म छक्कै परेँ। ब्यूँझनुहोस्‌! पत्रिकामा भएको कुरा साँचो हो कि होइन भनेर पक्का गर्न मैले मोर्मोनहरूको आधिकारिक वेबसाइट हेरेँ। ती कुराहरू साँचो रहेछन्‌। युटाहामा भएको मोर्मोनहरूको सङ्‌ग्रहालयमा गएर हेरेपछि त यो कुरा झनै पक्का भयो।

मैले मोर्मोनको पुस्तक र बाइबल एकआपसमा मेल खान्छ भन्‍ने विश्‍वास राख्थेँ। तर अझै गहिरिएर बाइबल अध्ययन गर्दै जाँदा मैले मोर्मोनको शिक्षा र बाइबलमा लेखिएका कुरा एकआपसमा मेल खाँदैनन्‌ भनेर बुझेँ। उदाहरणको लागि, बाइबलको इजकिएल १८:४ मा जसले पाप गर्छ त्यही मर्छ भनेर लेखिएको छ। तर मोर्मोनको पुस्तकको अल्मा ४२:९ मा बताइएअनुसार मानिसभित्र भएको एउटा अदृश्‍य अंश ‘कहिल्यै मर्न सक्दैन।’

मोर्मोनहरूका धार्मिक शिक्षाहरूका साथै तिनीहरूले सिकाउने राष्ट्रवादी विचारधाराहरू पनि मलाई चित्त बुझेन। उदाहरणको लागि, मोर्मोनहरू अदनको बगैँचा अमेरिकाको मिसौरीमा रहेको ज्याक्सन काउन्टीमा थियो भनेर सिकाउँछन्‌। तिनीहरू परमेश्‍वरले भविष्यमा अमेरिकी सरकार चलाएर पृथ्वीमाथि शासन गर्नुहुनेछ भनेर पनि सिकाउँछन्‌।

म आफू जन्मिएको देश र यस्तै अरू देशबारे मोर्मोनहरू के सिकाउँछन्‌ भनेर सोच्ने गर्थेँ। एक साँझ मोर्मोन मिसनरी बन्‍ने तालिम लिइरहेको जवानले मलाई फोन गर्दा मैले त्यस विषयमा कुरा निकालेँ। मैले तिनलाई युद्धमा आफ्नो देशको लागि अर्को देशका मोर्मोनसित लड्‌न तयार हुन्छौ कि हुँदैनौ भनेर सोधेँ। उसले तयार हुन्छु भन्दा म छक्कै परेँ। आफूले लिएको शिक्षाबारे मैले अझ गहिरो अध्ययन गरेँ। मैले मोर्मोन चर्चका अगुवाहरूसित पनि छलफल गरेँ। तिनीहरूले यस प्रश्‍नको जवाफ अहिले हामीलाई थाह छैन र कुनै दिन ज्योति चहकिलो भएपछि छर्लङ्‌गै हुनेछ भनेर बताए।

तिनीहरूको जवाफ मलाई चित्त बुझेन। मैले आफैलाई राम्ररी जाँचेँ र म मोर्मोन मिसनरी बन्‍न चाहनुको कारणबारे सोच्न थालेँ। म मोर्मोन मिसनरी बन्‍न चाहनुको एउटा कारण अरूलाई मदत गर्नु थियो। अर्को कारण भनेको, मिसनरी भएपछि मैले मानिसहरूबाट आदर पाउने थिएँ। तर परमेश्‍वरबारे त मैले खासै केही बुझेकै थिइनँ। मैले पहिले थुप्रै पटक बाइबल पढेको भए पनि वास्तवमा यसको खासै मोल गरेको थिइनँ। पृथ्वी र मानिसजातिको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे पनि मलाई थाह थिएन।

मैले कसरी लाभ उठाएको छु?

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर मैले परमेश्‍वरको नाम के हो, मरेपछि हामीलाई के हुन्छ, परमेश्‍वरको उद्देश्‍यमा येसुको भूमिका के हो भनेर सिक्न पाएको छु। साथै मैले बाइबलका कुराहरू अझ राम्ररी बुझ्न पाएको छु र आफूले सिकेको कुरा अरूलाई बताउन पाएकोमा खुसी छु। मलाई परमेश्‍वर हुनुहुन्छ भनेर त थाह थियो तर अहिले भने म उहाँलाई घनिष्ठ साथीको रूपमा प्रार्थना पनि गर्न सक्छु। जुलाई १२, २००४ मा बप्तिस्मा गरेर म एक जना यहोवाको साक्षी भएँ र त्यसको छ महिनापछि पूर्ण समय सेवा सुरु गरेँ।

मैले पाँच वर्ष न्यु योर्कको ब्रूक्लिनमा रहेको यहोवाका साक्षीहरूको मुख्यालयमा सेवा गरेँ। लाखौँ मानिसहरूलाई फाइदा पुऱ्‍याउने बाइबल र बाइबलआधारित प्रकाशनहरू प्रकाशित गर्ने काममा मदत दिन पाएकोमा म खुसी छु अनि परमेश्‍वरबारे अरूलाई सिकाउन पाएकोमा रमाउँदै छु।