सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो”

“सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो”
  • जन्म मिति: १९७४

  • जन्म स्थान: लाट्भिया

  • विगतमा: खतरा मोल्न रुचाउने मोटरबाइक रेसर

मेरो विगत:

मेरो जन्म लाट्भियाको राजधानी रिगामा भएको थियो। म र मेरी दिदीलाई आमाले हुर्काउनुभयो। आमा क्याथोलिक हुनुहुन्थ्यो। तर हामी चाडपर्वमा मात्र चर्च जाने गर्थ्यौं। म पहिल्यैदेखि एउटा सर्वोच्च शक्तिमा विश्वास त गर्थें। तर जवान भएपछि म अरू नै कुरामा भुल्न थालें।

म हुर्कंदै गर्दा आमाले मेरो एउटा कुरा याद गर्नुभयो। सामानहरू बिगारेर फेरि जोड्न म सिपालु थिएँ। घरमा मैले बिगार्न सक्ने सामानहरू धेरै भएकोले आमा मलाई घरमा एक्लै छोड्न डराउनुहुन्थ्यो। त्यसैले उहाँले मलाई बिगार्दै-जोड्दै गाडी, क्रेनहरू बनाउन मिल्ने एक प्रकारको खेलौना ल्याइदिनुभयो। म त्यो खेल्न असाध्यै मन पराउँथें। त्यो सँगसँगै म अर्को कुरामा पनि हुरुक्क हुन थालें। त्यो हो मोटरबाइक चलाउने। आमाले जेल्टा मोपेड (सुनौलो मोपेड) भनिने एउटा मोटरबाइक रेसमा मेरो नाम दर्ता गरिदिनुभयो। सुरुमा मैले मोपेड अर्थात्‌ सानो खालको मोटरसाइकल रेसमा भाग लिएँ अनि पछि गएर ठूलो मोटरसाइकल नै कुदाउन थालें।

म कुनै कुरा एकदमै छिटो सिक्थें। यो द्रुत गतिको खतरनाक खेलमा पनि म धेरै सफल भएँ। तीन पटक मैले लाट्भियामा आयोजना गरिने मोटरबाइक रेस जितें र दुई चोटि बाल्टिक राज्यमा आयोजना गरिने विभिन्न तहको मोटरबाइक रेस जितें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सफलताको शिखर चुमिरहेको बेला मेरी प्रेमिका एभियाले (अहिले मेरी श्रीमती) यहोवाका साक्षीहरूलाई भेटिन्‌। उनले साक्षीहरूबाट केही साहित्य पाएकी थिइन्‌ र त्यसमा बाइबल अध्ययनको लागि अनुरोध गर्न सक्ने कुपन पनि थियो। उनले त्यो कुपन भरेर पठाइन्‌। केही समय नबित्दै दुई साक्षी एभियालाई भेट्न आए र उनले साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। मलाई त्यसमा कुनै आपत्ति थिएन किनभने त्यसबेला मलाई धर्ममा चासै थिएन।

पछि ती साक्षीहरूले मलाई पनि एभियाको बाइबल अध्ययनमा बस्न निम्तो दिए। मैले निम्तो स्वीकारें र मलाई सुनेको कुरा चित्त बुझ्यो। विशेषगरि  सुन्दर पृथ्वीबारे बाइबलको प्रतिज्ञाले मेरो मन छोयो। उदाहरणको लागि, साक्षीहरूले मलाई भजन ३७:१०, ११ देखाए। त्यहाँ यसो भनिएको छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” यो प्रतिज्ञाले मलाई बाइबल सत्यतर्फ आकर्षित गऱ्यो।

आध्यात्मिक कुराहरूप्रति मेरो चासो बढ्दै गयो। धर्महरूले कतिसम्म झूट फैलाएका रहेछन्‌ भनेर बुझ्दै गएँ। अर्कोतर्फ, बाइबलका शिक्षाहरू भने मलाई असाध्यै चित्तबुझ्दो अनि स्पष्ट लाग्यो।

बाइबल अध्ययन गर्दै जाँदा यहोवा जीवनको कत्ति धेरै मोल गर्नुहुन्छ र जीवनलाई अमूल्य ठान्नुहुन्छ भनेर बुझें। (भजन ३६:९) त्यो कुराले मेरो मोटरबाइक रेसमा असर पाऱ्यो। अब म आफ्नो जीवनलाई खतरामा पार्न चाहन्नथें। बरु यहोवाको महिमा हुनेगरि आफ्नो जीवन बिताउन चाहन्थें। त्यसैले मोटरबाइक रेसबाट पाउने नाम, इज्जत र रोमाञ्च मेरो लागि अब त्यति महत्त्वपूर्ण भएन।

जीवन दिनुहुने परमेश्वरप्रति मेरो केही दायित्व छ भनेर मैले बुझें

सन्‌ १९९६ मा इस्टोनियाको टाल्लिनमा आयोजित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा म गएँ। त्यो ठाउँ मैले पहिला अक्सर मोटरबाइक रेस गर्ने रङ्गशाला नजिकै थियो। अधिवेशनमा विभिन्न राष्ट्रका मानिसहरू मिलेर बसेको देखें। उदाहरणको लागि, एक जना साक्षीले आफ्नो झोला हराइन्‌। तिनले अब त्यो भेट्दिनन्‌ होला भन्ने मलाई लागेको थियो। तर केही बेरमै अर्को एक साक्षीले त्यो झोला भेट्टाइन्‌ र जस्ताको तस्तै फिर्ता गरिन्‌। म त छक्कै परें! त्यसपछि यहोवाका साक्षीहरू साँच्चै बाइबलका उच्च स्तर अनुरूप जीवन बिताउँछन्‌ भनेर बुझें। एभिया र मैले बाइबल अध्ययनमा उन्नति गर्दै गयौं र सन्‌ १९९७ मा यहोवाका साक्षीको रूपमा बप्तिस्मा गऱ्यौं।

मैले कसरी लाभ उठाएको छु?

मेरा कोही-कोही साथीले मोटरबाइक रेसरको रूपमा लापरवाही र मस्तीको जीवन बिताएर आफ्नो ज्यान गुमाएका छन्‌। बाइबल अध्ययन गरेपछि जीवन दिनुहुने यहोवाप्रति मेरो केही दायित्व छ भनेर मैले बुझें। सायद त्यो कुरा बुझेकोले नै होला, म अहिले जीवितै छु।

चार वर्षसम्म एभिया र मैले लाट्भियाको रिगा सहरमा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा पूर्ण-समय सेवा गर्ने सुअवसर पायौं। अहिले हामी छोरी आलिसलाई हुर्काउँदैछौं र तिनलाई यहोवाप्रति प्रेम विकास गर्न मदत गर्दै छौं। साथै हप्ताको एक दिन अनुवाद कार्यालयमा सेवा गर्ने सुअवसर पाएको छु। त्यहाँ म गाडी र अरू सामान मर्मत गर्ने काम गर्छु। आफूले सानो छँदा सिकेको सीप राम्रो काममा प्रयोग गर्न पाउँदा म साँच्चै खुसी छु! हो, म अझै पनि सामानहरू बिगारेर जोड्दै छु।

एक मात्र साँचो परमेश्वरको विषयमा परिवारसँगै मिलेर साक्षी दिन पाउनुलाई म ठूलो सुअवसर ठान्छु। बाइबलबाट सिकेका कुराहरूको निम्ति म अति कृतज्ञ छु। साँच्चै, सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो!