सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ

बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ

बाह्र वर्षको छँदा सन्‌ १९४१ मा मैले बप्तिस्मा गरें। तर बाइबलको सत्य राम्ररी बुझ्न थालेको चाहिं १९४६ तिर मात्र हो। त्यसो हुनुको कारण छ। म तपाईंहरूलाई आफ्नो कथा बताउन चाहन्छु।

सन्‌ १९१० को दशकमा मेरो आमाबुबा जर्जियाको टिबिलिसीबाट क्यानाडामा बसाइँ सर्नुभयो। उहाँहरू क्यानाडाको पश्‍चिमी भागमा पर्ने सास्काचेवानको पेली नजिकैको गाउँमा बस्न थाल्नुभयो। मेरो जन्म १९२८ मा भयो। हामी छ जना छोराछोरीमध्ये म सबैभन्दा कान्छो हुँ। म जन्मिनुभन्दा छ महिनाअघि बुबा बित्नुभयो। अनि म सानै छँदा आमा पनि बित्नुभयो। मेरी जेठी दिदी लुसी १७ वर्षको उमेरमा बित्नुभयो। त्यसपछि निक मामाले हामी सबै केटाकेटीको लालनपालन गर्नुभयो।

बच्चै छँदाको कुरा हो, म घोडाको पुच्छर तानेर खेलिरहेको थिएँ। यो कुरा परिवारले देख्नुभएछ। घोडाले लात हान्ला भन्ने डरले अत्तालिंदै चिच्याउनुभएछ। तर उहाँहरू जति चिच्याए पनि मैले घोडाको पुच्छर समाइनै रहें, पछाडि पनि फर्किनँ। किनभने उहाँहरू कराएको मैले सुन्दै सुनिनँ। म कान नसुन्ने रहेछु भनेर उहाँहरूले त्यही दिन थाह पाउनुभयो। धन्न, त्यतिबेला घोडाले मलाई केही गरेन!

मलाई बहिराहरूको स्कुलमा पठाउनु राम्रो हुन्छ भनेर हाम्रो परिवारको साथीले सल्लाह दिनुभयो। त्यसैले निक मामाले मलाई सास्काचेवानको सास्काटुनमा बहिराहरूको लागि खोलिएको स्कुलमा भर्ना गरिदिनुभयो। त्यो ठाउँ घरबाट धेरै टाढा थियो। त्यतिबेला म पाँच वर्षको मात्र थिएँ। त्यसैले घर छोडेर जान असाध्यै डर लाग्यो। बिदाको दिन र गर्मीको छुट्टीमा मात्र परिवारसित भेट्‌न पाइन्थ्यो। साङ्‌केतिक भाषा सिकेपछि भने अरू केटाकेटीसित खेल्न रमाइलो लाग्न थाल्यो।

बाइबल सत्य सिकें

सन्‌ १९३९ मा मारियोन दिदीले बिल डानिलचकसित विवाह गर्नुभयो। त्यसपछि उहाँहरूले म र फ्रान्सिस दिदीको लालनपालन गर्नुभयो। हाम्रो परिवारमा यहोवाका साक्षीहरूसित सुरुमा भेट्‌ने उहाँहरू नै हुनुहुन्छ। गर्मीको छुट्टीमा घर आएको बेला उहाँहरूले मलाई बाइबलको कुरा सिकाउन निकै कोसिस गर्नुभयो। साँच्चै भन्ने हो भने उहाँहरूसित कुरा गर्न सजिलो थिएन किनभने उहाँहरूलाई साङ्‌केतिक भाषा आउँदैन थियो। तर मैले यहोवाबारे जे-जति सिक्दै थिएँ, त्यसलाई साँच्चै प्रेम गर्दो रहेछु भनेर उहाँहरूले देख्नुभयो। उहाँहरू बाइबलले सिकाएअनुसारै चल्नुहुँदो रहेछ भनेर बुझें। त्यसैले उहाँहरूसितै प्रचारमा गएँ। त्यसको केही समय नबित्दै मलाई पनि बप्तिस्मा गर्न मन लाग्यो। त्यसैले सेप्टेम्बर ५, १९४१ मा बप्तिस्मा गरें। बिल भिनाजुले मलाई स्टिलको ड्रममा बप्तिस्मा गराउनुभएको थियो। त्यो ड्रममा इनारको पानी भरिएको थियो। ओहो! त्यो पानी कस्तो चिसो थियो!

अमेरिकाको क्लिभल्याण्डमा भएको अधिवेशनमा बहिराहरूसित

सन्‌ १९४६ मा गर्मीको छुट्टीमा घर आएको बेला हामी अमेरिकाको क्लिभल्याण्डमा अधिवेशन गयौं। कुन विषयमा भाषण दिइँदै छ भनेर बुझाउन दिदीहरूले पहिलो दिन पालैपालो नोट लेखिदिनुभयो। तर बहिराहरूको लागि साङ्‌केतिक भाषाको दोभासे पनि रहेछ भनेर दोस्रो दिन थाह पाएँ। एकदमै खुसी लाग्यो! अब भने बल्ल पूरै कार्यक्रम बुझ्ने भएँ। बाइबलको सत्य कुरा स्पष्टसित बुझ्न पाउँदा असाध्यै खुसी लाग्यो।

सत्य सिकाउँदै

त्यतिबेला दोस्रो विश्वयुद्ध भर्खरै सिद्धिएको थियो अनि राष्ट्रवादको लहड एकदमै चर्किरहेको थियो। अधिवेशनमा सिकेका कुराहरूले गर्दा म यहोवाप्रति वफादार रहन कटिबद्ध भएँ। त्यसैले स्कुल फर्केपछि झन्डा सलामी र राष्ट्रिय गानमा भाग लिन छोडें। अनि चाडपर्वसित सम्बन्धित समारोह र अनिवार्य चर्च कार्यक्रममा पनि गइनँ। यसो गरेको स्कुलका स्टाफहरूलाई मन परेको थिएन। त्यसैले डर धम्की देखाएर अनि झूटो कुरा गरेर मेरो सोचाइ परिवर्तन गराउन खोजे। यो कुरा साथीहरूले याद गरिरहेका थिए। यसले गर्दा मैले उनीहरूलाई साक्षी दिने थुप्रै मौका पाएँ। पछि मेरा साथीहरू लारी आन्ड्रोसोफ, नर्मन डिट्रिक र एमिल स्नाइडरले सत्य स्विकारे। तिनीहरू अहिलेसम्म पनि वफादार भई यहोवाको सेवा गर्दै छन्‌।

अरू सहरमा घुम्न जाँदा त्यहाँका बहिराहरूलाई साक्षी दिन म सक्दो प्रयास गर्थें। एक चोटि मन्ट्रिअलको बहिरा क्लबमा एड्डी टेगरलाई साक्षी दिएँ। ऊ त्यो क्लबको नाइके थियो। गएको वर्ष उसको मृत्यु भयो। ऊ क्युबेकको लाभाल भन्ने ठाउँको एउटा साङ्‌केतिक मण्डलीमा सेवा गर्दै थियो। मैले क्वान आर्डानेजलाई पनि भेटें। उसले प्राचीन समयका बिरियालीहरूले जस्तै बाइबलको सन्देश साँचो हो कि होइन भनी पक्का गर्न धर्मशास्त्र जाँच्यो। (प्रेषि. १७:​१०, ११) उसले पनि सत्य स्विकाऱ्यो अनि मर्नुअघिसम्म ओन्टारियोको ओटावाको एउटा मण्डलीमा एल्डरको रूपमा सेवा गर्दै थियो।

सन्‌ १९५० दशकको सुरुतिर सडक साक्षीकार्यमा भाग लिंदै

म सन्‌ १९५० मा भानकुभर सरें। मलाई बहिराहरूलाई प्रचार गर्न मन पर्छ। तर एउटी कान सुन्ने महिलालाई प्रचार गरेको दिन म कहिल्यै बिर्संदिनँ। उहाँको नाम क्रिस स्पेन्सर हो। उहाँलाई मैले सडकमा साक्षी दिएको थिएँ। उहाँ पत्रिकाको नियमित ग्राहक बन्नुभयो। उहाँ मलाई आफ्नो श्रीमान्‌ ग्यारीसित भेटाउन चाहनुहुन्थ्यो। त्यसैले म उहाँहरूको घर गएँ अनि कागजमा लेख्दै हामीले निकै लामो कुराकानी गऱ्यौं। त्यसपछि भने उहाँहरूसित भेट्‌ने मौका पाइएन। तर केही वर्षपछि ओन्टारियोको टोरोन्टोमा भएको एउटा अधिवेशनमा उहाँहरूले मलाई देख्नुभयो। उहाँहरूलाई फेरि भेट्‌दा म त तीनछक परें! त्यो दिन ग्यारीले बप्तिस्मा गर्न लाग्नुभएको रहेछ। त्यो अनुभवबाट मैले एउटा राम्रो पाठ सिकें: हामीले प्रचार गरिरहनुपर्छ किनभने सत्यले कहिले अनि कहाँ जरा गाड्‌छ, हामीलाई थाह छैन।

पछि म फेरि सास्काटुन फर्कें। त्यहाँ मैले एउटी महिलालाई भेटें। उहाँका दुई जना जुम्ल्याहा छोरीहरू थिए: जीन र जोआन रोथेनबर्गर। तिनीहरू बहिरा थिए अनि म पढेकै स्कुलमा पढ्‌दै थिए। तिनीहरूको आमाले मलाई तिनीहरूलाई बाइबलको कुरा सिकाउनू भन्नुभयो। अध्ययन गर्न थालेको केही समय नबित्दै तिनीहरूले आफ्ना साथीहरूलाई पनि बाइबलको कुरा बताउन थाले। पछि तिनीहरूको कक्षाबाट पाँच जना विद्यार्थी यहोवाका साक्षी भए। तीमध्ये युनिस कोलिन पनि थिइन्‌। बहिराहरूको त्यही स्कुलमा पढ्‌दै गर्दा युनिसलाई एक चोटि भेटेको थिएँ। उनी मभन्दा सानो कक्षामा पढ्थिन्‌। त्यतिबेला उनले मलाई एउटा चकलेट दिएर ‘अबदेखि हामी साथी बनौं’ भनेकी थिइन्‌। पछि उनी नै मेरो जीवनसाथी बनिन्‌!

सन्‌ १९६० र १९८९ मा युनिससित

युनिसले बाइबल अध्ययन गरिरहेको कुरा उनकी आमाले थाह पाइन्‌। त्यसपछि उहाँले अध्ययन रोक्न लगाउन प्रिन्सिपललाई भन्नुभयो। प्रिन्सिपलले युनिसको बाइबल अध्ययन गर्ने सबै किताब खोस्नुभयो। तर युनिस हर हालतमा यहोवाप्रति वफादार रहिरहन चाहन्थिन्‌। बप्तिस्मा गर्ने इच्छा व्यक्त गर्दा उनको आमाबुबाले यसो भन्नुभयो: “तिमी यहोवाको साक्षी हुने भए यो घरमा नबसे हुन्छ!” युनिसले १७ वर्षको उमेरमा घर छोड्‌नुपऱ्यो। त्यसपछि त्यही इलाकाको एउटा साक्षी परिवारले उनलाई आफ्नो घरमा राखे। उनले अध्ययन गर्न छोडिनन्‌ र पछि बप्तिस्मा गरिन्‌। हामीले १९६० मा विवाह गऱ्यौं। तर उनको आमाबुबा हाम्रो विवाहमा आउनुभएन। समय बित्दै जाँदा हाम्रो धार्मिक विश्वास र हामीले छोराछोरी हुर्काएको तरिका देखेर उहाँहरूले हाम्रो कदर गर्न थाल्नुभयो।

यहोवाले मेरो ख्याल राख्नुभएको छ

मेरो छोरा निकोलस र बुहारी डेब्रा लन्डन बेथेलमा सेवा गर्छन्‌

हामी दुवै बहिरा भएकोले सात जना छोरा हुर्काउन निकै गाह्रो भयो। तिनीहरू सबै जना सुन्न सक्छन्‌। तर तिनीहरूसित खुलस्त कुराकानी गर्न र तिनीहरूलाई सत्य सिकाउन सजिलो होस् भनेर हामीले साङ्‌केतिक भाषा सिक्न लगायौं। मण्डलीका भाइबहिनीले पनि हामीलाई धेरै मदत गर्नुभयो। जस्तै: एक चोटि हाम्रो एउटा छोराले राज्यभवनमा फोहोर बोली बोलिरहेको रहेछ। त्यो कुरा थाह दिन एक जना बुबाले कागजमा एउटा नोट लेखेर दिनुभयो। हामीले उत्तिखेरै त्यो समस्या सुल्झाउन सक्यौं। मेरा चार जना छोरा जेम्स, जेरी, निकोलस र स्टिभन आफ्नो परिवारसित मिलेर वफादार भई यहोवाको सेवा गर्दै छन्‌। चारै जना छोरा एल्डर हुन्‌। निकोलस र बुहारी डेब्रा बेलायत शाखाको साङ्‌केतिक भाषाको अनुवादको काममा सघाउँछन्‌। अर्को छोरा स्टिभन र बुहारी शानन अमेरिकाको साङ्‌केतिक भाषा अनुवाद टोलीमा काम गर्छन्‌।

मेरा छोराहरू जेम्स, जेरी र स्टिभन आफ्ना श्रीमतीहरूसित साङ्‌केतिक भाषाको प्रचारकार्यमा भाग लिंदै

हाम्रो विवाह भएको ४० वर्ष पूरा हुनुभन्दा एक महिनाअघि युनिसको मृत्यु भयो। उनलाई क्यान्सर भएको थियो। त्यस्तो गाह्रो भएको बेला पनि युनिसले हरेस खाइनन्‌। पुनर्जीवनको आशाले गर्दा उनले आफ्नो विश्वास बलियो बनाइराख्न सकिन्‌। म उनलाई फेरि भेट्‌ने दिनको प्रतीक्षा गर्दै छु।

फे र जेम्स, जेरी र एभलिन, शानन र स्टिभन

सन्‌ २०१२, फेब्रुअरी महिनाको कुरा हो, लडेर मेरो कम्मर भाँचियो। एक्लै बस्न गाह्रो हुन्छ जस्तो लाग्यो। त्यसैले एक जना छोरा र उसको श्रीमतीकहाँ बस्न गएँ। अहिले हामी क्यालगरी साङ्‌केतिक भाषा मण्डलीमा छौं र म एल्डरको रूपमा सेवा गर्दै छु। भनौं भने, साङ्‌केतिक भाषा मण्डलीमा सेवा गर्न पाएको यो नै पहिलो पटक हो। मलाई कस्तो लाग्यो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। सन्‌ १९४६ देखि त्यत्रो वर्षसम्म म अङ्‌ग्रेजी मण्डलीमै थिएँ। म कसरी आध्यात्मिक तवरमा बलियो भइरहन सकें? बुबा नभएकाहरूलाई सहायता गर्ने आफ्नो प्रतिज्ञा यहोवाले पूरा गर्नुभएको छ। (भज. १०:१४) मेरो लागि नोट लेख्ने, साङ्‌केतिक भाषा सिक्ने अनि दोभासेको काम गर्न धेरै मेहनत गर्ने सबैप्रति म निकै आभारी छु।

अमेरिकी साङ्‌केतिक भाषाको अग्रगामी स्कुलमा ७९ वर्षको उमेरमा भाग लिंदै

म अरूको कुरा राम्ररी बुझ्न सक्दिनथें अनि अरूले बहिराहरूलाई मदत दिन नजानेको जस्तो लाग्थ्यो। साँच्चै भन्ने हो भने कहिलेकाहीं म असाध्यै निराश हुन्थें। तर त्यसरी निराश भएको बेला पत्रुसले येशूलाई भनेका यी शब्दहरू सम्झन्थें: “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसित छन्‌।” (यूह. ६:​६६-६८) मेरो जमानाका थुप्रै बहिरा भाइबहिनीले जस्तै मैले पनि धीरजी हुन सिकें। यहोवा र उहाँको सङ्‌गठनको बाटो हेर्न सिकें। यसो गर्दा थुप्रै लाभ उठाउन सकेको छु। अहिले मेरो आफ्नै भाषामा प्रचुर मात्रामा आध्यात्मिक भोजन उपलब्ध छ। साथै अमेरिकी साङ्‌केतिक भाषाका सभा तथा अधिवेशनहरूमा अरूसित सरसङ्‌गत पनि गर्न सक्छु। महान्‌ परमेश्वर यहोवाको सेवा गर्दा साँच्चै आनन्दमय र इनामदायी जीवन बिताउन सकेको छु।