सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम

एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम

सन्‌ २०१२ मा पुरातत्त्वविद्‌हरूले ३,००० वर्ष पुरानो माटोको भाँडोका टुक्राटाक्री फेला पारे। उनीहरूको लागि यो निकै चासोको विषय थियो। किन? त्यो भाँडोमा खास त्यस्तो के थियो? भाँडोका टुक्राटाक्री आफैमा विशेष थिएन तर त्यसमा लेखिएको कुरा भने विशेष थियो।

पुरातत्त्वविद्‌हरूले त्यस भाँडोका टुक्राटाक्री जोडेर सिङ्‌गो भाँडो बनाएपछि त्यसमा लेखिएको कुरा पढ्‌न सम्भव भयो। त्यसमा कनानी भाषामा यस्तो लेखिएको थियो: “बेदाका [छोरा] एश्बाल।” यो नाम यसअघि कुनै पनि अभिलेखमा भेटिएको थिएन।

बाइबलमा एश्बाल नामका अर्का व्यक्तिबारे उल्लेख गरिएको छ। उनी राजा शाऊलका छोरा थिए। (१ इति. ८:३३; ९:३९) उत्खननमा संलग्न प्राध्यापक योसेफ गर्फिङ्‌कल यसो भन्छन्‌: “बाइबलमा एश्बाल नाम उल्लेख हुनु र अहिले भेटिएको दाऊदको शासनकालको अभिलेखमा पनि त्यही नाम उल्लेख हुनु साँच्चै अचम्मलाग्दो कुरा हो।” कसै-कसैको विचारमा यो नाम दाऊदको समयमा मात्रै पाइन्थ्यो। बाइबलको विवरण ऐतिहासिक रूपमा सही छ भनेर देखाउने यो अर्को एउटा प्रमाण हो।

बाइबलको अरू भागमा एश्बाल नामबाट ‘बाल’ हटाएर त्यसको ठाउँमा “बोशेत” राखी “ईश्बोशेत” लेखिएको छ। (२ शमू. २:१०) किन? अनुसन्धानकर्ताहरूका अनुसार बाल नामले कनानीहरूले पुज्ने वर्षाका देव बालको सम्झना गराउने भएकोले दोस्रो शमूएलको किताबमा यो नाम प्रयोग नगरिएको हुन सक्छ। तर पहिलो इतिहासको किताबमा भने एश्बाल नाम नै पाइन्छ।