सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

फिलिपले इथियोपियाली नपुंसकलाई भेट्‌दा ती इथियोपियाली कस्तो प्रकारको रथमा चढिरहेका थिए?

नयाँ संसार अनुवाद-मा “रथ” भनेर अनुवाद गरिएको मौलिक भाषाको शब्दले विभिन्‍न प्रकारको रथलाई बुझाउन सक्छ। (प्रेषि. ८:२८, २९, ३८) तर ती इथियोपियाली चढिरहेको रथ युद्धमा वा दौड प्रतियोगितामा प्रयोग गरिने रथभन्दा ठूलो थियो जस्तो देखिन्छ। यसो भन्‍न सक्नुका केही कारण विचार गरौँ।

ती इथियोपियाली उच्च अख्तियारवाला थिए र लामो यात्रा गरिरहेका थिए। उनी “इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा उनलाई सुम्पिइएको थियो।” (प्रेषि. ८:२७) पुरातन इथियोपियामा आधुनिक इजिप्टको दक्षिणी भाग र सुडान पर्छ। ती इथियोपियालीले पूरै यात्राभरि एउटै रथ प्रयोग गरेका थिएनन्‌ होला। तर जेहोस्‌, उनले लामो यात्रा गर्नको लागि चाहिने सामानहरू अट्‌ने रथ नै प्रयोग गरेको हुनुपर्छ। इस्वी संवत्‌ प्रथम शताब्दीमा यात्रुहरूले चारपाङ्‌ग्रे बग्गी पनि प्रयोग गर्थे। प्रेषितको किताब—व्याख्यात्मक टिप्पणी (अङ्‌ग्रेजी) भन्‍ने किताबमा यसो भनिएको छ: “यस्ता बग्गीहरूमा सरसामान राख्नको लागि प्रशस्तै ठाउँ हुन्थ्यो अनि यो सुविधाजनक हुने भएकोले लामो यात्रा गर्न सकिन्थ्यो।”

फिलिपले ती इथियोपियालीलाई भेट्‌दा उनी पढिरहेका थिए। बाइबल यसो भन्छ: “फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्‍ता यसैयाको पुस्तक पढिरहेको सुने।” (प्रेषि. ८:३०) लामो यात्रा गर्न प्रयोग गरिने बग्गी तीव्र गतिमा कुदाउन मिल्नेगरि बनाइएको हुँदैनथ्यो। रथ बिस्तारै गुडिरहेकोले नै ती नपुंसकले पढिरहन सकेको अनि फिलिपले पनि दौडेर उनलाई भेट्टाउन सकेको हुनुपर्छ।

ती इथियोपियालीले “फिलिपलाई रथमा चढेर आफूसँगै बस्न आग्रह गरे।” (प्रेषि. ८:३१) दौड प्रतियोगितामा प्रयोग गरिने रथ उभिएरै हाँक्नुपर्थ्यो, त्यसमा बस्ने ठाउँ हुँदैनथ्यो। तर ती इथियोपियालीले यात्रा गरेको रथमा उनी र फिलिप बस्न पुग्ने ठाउँ थियो जस्तो देखिन्छ।

प्रेषित ८ अध्यायको विवरण र ऐतिहासिक प्रमाणहरूको आधारमा हालैका हाम्रा प्रकाशनहरूमा ती इथियोपियाली चढेको रथलाई युद्धमा वा दौड प्रतियोगितामा प्रयोग गरिने रथभन्दा ठूलो देखाइएको छ।