सीधै सामग्रीमा जाने

माया गर्छु भनेर बताउनुहोस्‌

माया गर्छु भनेर बताउनुहोस्‌

 अङ्‌-ली यहोवाका साक्षी हुन्‌। तिनी बुल्गेरियामा बस्छिन्‌। तिनले ज्लाट्‌का नाम गरेकी एक जवान महिलालाई बाइबल अध्ययन गर्छिन्‌ तर ज्लाट्‌काका श्रीमान्‌ भने बाइबल अध्ययन गर्दैनन्‌। अङ्‌-ली भन्छिन्‌: “परिवारको विषयमा अध्ययन गर्दै गर्दा मैले ज्लाट्‌कालाई आफ्नो श्रीमान्‌ र बच्चालाई माया गरेको कुरा मौखिक रूपमा पनि व्यक्‍त गर्नुपर्छ भनेर जोड दिएँ। त्यतिबेला ज्लाट्‌काले दुःखी हुँदै मेरो अनुहार हेरिन्‌। आफ्नो श्रीमान्‌ र नौ वर्षकी छोरीलाई माया गरेको कुरा कहिल्यै बताएकी छैन भनेर उनले मलाई भनिन्‌।”

 ज्लाट्‌काले यसो भनेकी थिइन्‌: “म उनीहरूको लागि जे पनि गर्न सक्छु। तर माया गर्छु भनेर बताउन चाहिँ साह्रै गाह्रो लाग्छ।” उनले अझै यसो भनिन्‌: “मेरी आमाले मलाई माया गर्छु भनेर कहिल्यै भन्‍नुभएन अनि मेरी हजुरआमाले पनि मेरी आमालाई माया गर्छु भनेर कहिल्यै भन्‍नुभएन।” अङ्‌-लीले ज्लाट्‌कालाई यहोवा र येसुको उदाहरणबारे बताइन्‌; यहोवाले येसुलाई माया गर्छु भनेको मौखिक रूपमै बताउनुभएको विवरण तिनले बाइबल पल्टाएर ज्लाट्‌कालाई देखाइन्‌। (मत्ति ३:१७) अनि त्यस विषयमा यहोवासित प्रार्थना गर्न ज्लाट्‌कालाई प्रोत्साहन दिइन्‌। साथै आफ्नो श्रीमान्‌ र छोरीलाई माया गर्छु भनेर बताउने लक्ष्य राख्न सुझाव पनि दिइन्‌।

 अङ्‌-ली भन्छिन्‌: “दुई दिनपछि कुरा गर्दा उनले त्यस विषयमा यहोवालाई प्रार्थना गरेको कुरा बताइन्‌। अनि श्रीमान्‌सित पनि उनले कुरा गरेकी रहेछिन्‌। बाइबल अध्ययन गरेर आफूले श्रीमान्‌लाई कत्ति धेरै आदर र माया गर्नुपर्छ भनेर सिकेको कुरा उनले श्रीमान्‌लाई बताइछिन्‌। त्यसपछि अलिबेर रोकिएर उनले श्रीमान्‌लाई एकदमै माया गरेको कुरा बताइछिन्‌। छोरी घर फर्कँदा पनि उनले तिनलाई अङ्‌गालो हालेछिन्‌ र माया गरेको कुरा बताइछिन्‌। ज्लाट्‌काले मलाई यसो भनिन्‌: ‘अहिले मेरो मन हलुका भएको छ। यत्रो वर्ष मैले आफ्नो भावना मनमै गुम्साएर राखेकी रहेछु। तर यहोवाको मदतले मैले अहिले आफ्ना भावनाहरू परिवारलाई पोखाउन सकेकी छु।’

अङ्‌-ली अहिले पनि आफ्ना छिमेकीहरूलाई बाइबल अध्ययनको प्रस्ताव राख्छिन्‌

 अङ्‌-ली अझै यसो भन्छिन्‌: “एक हप्तापछि मैले ज्लाट्‌काको श्रीमान्‌लाई भेटेँ। उनले मलाई यसो भने: ‘ज्लाट्‌काले तपाईँसित बाइबल अध्ययन गर्नु हुँदैन भनेर धेरै जनाले मलाई भनेका छन्‌। तर उनले बाइबल अध्ययन गरेकोले हाम्रो परिवारलाई निकै फाइदा भएको छ। अहिले हाम्रो परिवार एकदमै खुसी र आनन्दित छ।’”