सीधै सामग्रीमा जाने

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—अल्बेनिया र कोसोभो

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—अल्बेनिया र कोसोभो

 इङ्‌गल्याण्डकी ग्वेन बहिनी आवश्‍यकता धेरै भएको देश अल्बेनियामा सेवा गर्छिन्‌। तिनी आफ्नो भावना यसरी व्यक्‍त गर्छिन्‌: “यहोवाको सेवामा यत्ति धेरै गर्न सक्छु होला भनेर मैले कहिल्यै सोचेकी थिइनँ।” *

 अरू थुप्रै साक्षीजस्तै ग्वेन पनि “सबै जातिका अनमोल थोकहरू” जम्मा गर्न अल्बेनिया सरिन्‌। (हाग्गै २:७) यी राज्य उद्‌घोषकहरूलाई यसरी बसाइँ सर्न केले उत्प्रेरित गऱ्‍यो? यसको लागि तिनीहरूले कस्ता छाँटकाँट गरे? अनि चुनौतीहरूको बाबजुद साक्षीकार्यमा लागिरहन तिनीहरूलाई केले मदत गरेको छ?

फरक-फरक परिस्थिति तर एउटै चाहना

 अल्बेनिया सरेका सबै प्रकाशकलाई उत्प्रेरित गरेको कुरा यही हो: यहोवाप्रतिको प्रेम र उहाँबारे अरूलाई सिकाउने इच्छा।

 बसाइँ सर्नुअघि तिनीहरूले आफ्नो सेवा विस्तार गर्न विभिन्‍न कदम चाले र यसले तिनीहरूलाई विदेशमा सेवा गर्दा आइपर्ने चुनौतीहरूको सामना गर्न मदत गऱ्‍यो। ग्वेन भन्छिन्‌: “म सुरुमा आफ्नै सहरको अल्बेनियन भाषा समूहमा जान थालेँ। त्यसपछि म अधिवेशनको लागि अल्बेनिया गएँ। पछि अझ राम्रोसँग भाषा सिक्न केही समयको लागि फेरि त्यहाँ गएँ।”

ग्वेन

 मानुएला २३ वर्षकी छँदा आफ्नो देश इटालीको एउटा सानो मण्डलीमा सरिन्‌। तिनी भन्छिन्‌: “मैले त्यहाँ चार वर्ष सेवा गरेँ। पछि मैले अल्बेनियामा अझ धेरै आवश्‍यकता छ भनेर थाह पाएँ। त्यसैले त्यहाँ केही महिना अग्रगामी सेवा गर्ने योजना बनाएँ।”

मानुएला (बीचमा)

 एउटा अधिवेशनमा अल्बेनियाको रिपोर्ट सुन्दा फेडेरिका सात वर्षकी मात्र थिइन्‌। तिनी भन्छिन्‌: “रिपोर्ट सुनाइरहेका दाइले अल्बेनियामा प्रकाशकहरूले थुप्रै बाइबल अध्ययन सञ्चालन गर्दै छन्‌ र चासो दिने व्यक्‍तिहरू सभाहरूमा आउँदै छन्‌ भनेर सुनाउनुभयो। मैले आमाबुबालाई अल्बेनिया जान चाहेको कुरा बताएँ। मेरो इच्छाबारे सुनेर उहाँहरू छक्क पर्नुभयो। तर बुबाले मलाई भन्‍नुभयो: ‘यसबारे प्रार्थना गर। यदि यहोवाको इच्छा रहेछ भने उहाँले तिम्रो कुरा पक्कै सुन्‍नुहुनेछ।’ केही महिनापछि हाम्रो पूरै परिवारलाई अल्बेनियामा सेवा गर्ने निम्तो दिइयो।” त्यहाँ सेवा गरेको वर्षौँपछि फेडेरिकाले ओर्गेससित विवाह गरिन्‌। तिनीहरू अहिले अल्बेनियामा पूर्ण-समय सेवकको रूपमा सेवा गर्दै छन्‌।

ओर्गेस र फेडेरिका

 कामबाट अवकाश पाएपछि जानपिएरो आफ्नी श्रीमती ग्लोरियासँगै अल्बेनिया सरे। तिनी भन्छन्‌: “हामीले इटालीमा पाँच जना छोराहरू हुर्कायौँ। तीन जना छोराहरू आवश्‍यकता धेरै भएको देशमा बसाइँ सरे। प्रहरीधरहरा-को ‘के तपाईँ म्यासिडोनिया जान सक्नुहुन्छ?’ भन्‍ने लेखले हाम्रो मनै छोयो। मेरो पेन्सनको पैसाले अल्बेनियामा सेवा गर्न पुग्छ कि पुग्दैन भनेर हामीले हिसाब गऱ्‍यौँ।”

जानपिएरो र ग्लोरिया

तिनीहरूले राम्ररी योजना बनाए

 आवश्‍यकता धेरै भएको ठाउँमा सर्न चाहनेहरूले पहिल्यै राम्ररी योजना बनाउनुपर्ने र छाँटकाँट गर्नुपर्ने हुन्छ। (लुका १४:२८) साथै दैनिक गुजारा चलाउन कस्तो काम गर्ने भनेर सोच्नुपर्ने हुन्छ। माथि उल्लेख गरिएकी ग्वेन इङ्‌गल्याण्डमा छँदा पैसा बचत गर्न सुरुमा आफ्नी दिदीकोमा सरिन्‌। इङ्‌गल्याण्डका सोफिया र क्रिस्टोफर यसो भन्छन्‌: “हामीले आफ्नो कार र केही फर्निचर बेच्यौँ। हामी अल्बेनियामा कम्तीमा पनि एक वर्ष बस्न चाहन्थ्यौँ।” तर खुसीको कुरा, तिनीहरू अझै लामो समयसम्म त्यहाँ बस्न सके।

क्रिस्टोफर र सोफिया

 केही प्रकाशक अल्बेनियामा केही समय बस्छन्‌, काम गर्नको लागि आफ्नो देश फर्कन्छन्‌ र पैसा कमाएपछि फेरि अल्बेनिया जान्छन्‌। एलिसियो र मिरियम पनि त्यसै गर्थे। एलिसियो भन्छन्‌: “मिरियम इटालीको पर्यटकीय क्षेत्रकी हुन्‌। त्यहाँ पर्यटकहरू धेरै आउने सिजनमा काम पाउन निकै सजिलो हुन्थ्यो। हामी त्यहाँ गर्मी याममा तीन महिना काम गर्थ्यौँ अनि बाँकी नौ महिना अल्बेनियामा सेवा गर्थ्यौँ। हामीले पाँच वर्षसम्म यसरी नै सेवा गऱ्‍यौँ।”

मिरियम र एलिसियो

चुनौतीहरू पार गर्दै

 बसाइँ सरेका भाइबहिनी नयाँ वातावरणमा घुलमिल हुनुपर्छ तर तिनीहरूलाई चुनौतीहरू पार लगाउन स्थानीय साक्षीहरूको सल्लाह र उदाहरणले मदत गर्छ। अगाडि उल्लेख गरिएकी सोफिया भन्छिन्‌: “अल्बेनियामा जाडोको बेला घरभित्र पनि निकै चिसो हुने रहेछ। स्थानीय दिदीबहिनीलाई हेरेर मैले त्यहाँका मानिसहरूले जस्तै लुगा लगाउन सिकेँ।” पोल्याण्डका जेगोर्ज र उनकी पत्नी सोना कोसोभोको सुन्दर सहर प्रिजरेनमा सरे। * जेगोर्ज भन्छन्‌: “यहाँका प्रकाशकहरू असाध्यै नम्र, दयालु अनि धीरजी हुनुहुन्छ। उहाँहरू हामीलाई भाषा अनि अरू थुप्रै कुरा सिकाउँदै हुनुहुन्छ। जस्तै, उहाँहरूले हामीलाई सस्तोमा सामानहरू किन्‍ने पसल देखाइदिनुभयो अनि बजारमा कसरी किनमेल गर्ने भनेर सिकाउनुभयो।”

रमाउने कारणहरू

 विदेशमा बसाइँ सरेकाहरूले स्थानीय साक्षीहरूलाई साथी बनाउँदा र तिनीहरूको पृष्ठभूमिबारे बुझ्ने कोसिस गर्दा लाभ उठाउन सक्छन्‌। सोना भन्छिन्‌: “यहोवाको प्रेममा कत्ति धेरै शक्‍ति हुन्छ भनेर मैले देखेकी छु। भाइबहिनीले आफ्नो पुरानो धार्मिक आस्था त्यागेको र जीवनशैली पूर्णतया परिवर्तन गरेको देख्दा मेरो विश्‍वास बलियो भएको छ। मण्डलीमा हाम्रो आवश्‍यकता छ र भाइबहिनीलाई मदत गर्न हामीले केही गर्नुपर्छ भन्‍ने महसुस हुन्छ। हामीले स्थानीय भाइबहिनीलाई साथी बनाएका छौँ र उहाँहरूसँगै मिलेर सेवा गर्दै छौँ।” (मर्कुस १०:२९, ३०) ग्लोरिया भन्छिन्‌: “साक्षीहरूलाई फिटिक्कै मन नपराउने छिमेकीहरूको घोर विरोध सहेका थुप्रै बहिनीलाई म चिन्छु। यहोवाप्रतिको उहाँहरूको प्रेम देख्दा मैले निकै प्रोत्साहन पाएकी छु।”

जेगोर्ज र सोना

 आवश्‍यकता धेरै भएको ठाउँमा सर्ने प्रकाशकहरूले आफ्नो देशमा सिक्न नपाएका बहुमूल्य पाठहरू सिक्ने मौका पाउँछन्‌। जस्तै, यहोवाको सेवामा आफूलाई गाह्रो लाग्ने कुरा पनि गर्दा आनन्दित हुन सकिन्छ भनेर तिनीहरूले महसुस गरेका छन्‌। स्टेफानो भन्छन्‌: “मेरो देशमा म अक्सर इन्टरकममार्फत छोटो प्रस्तुति प्रयोग गरेर साक्षी दिन्थेँ तर अल्बेनियाका मानिसहरू लामो कुराकानी गर्न मन पराउँछन्‌, विशेषगरि कफीको चुस्की लिइरहेको बेला। म निकै लजालु स्वभावको छु। त्यसैले सुरु-सुरुमा त मानिसहरूसित कसरी कुरा गर्ने भनेर निकै अप्ठ्यारो लाग्थ्यो। तर बिस्तारै मानिसहरूलाई चासो देखाउँदै कुरा गर्न सिकेँ र अहिले मलाई तिनीहरूसित कुराकानी गर्न रमाइलो लाग्छ। म साक्षीकार्यमा पहिलाभन्दा अझै आनन्दित हुन सकेको छु।”

अलिडा र स्टेफानो

 अमेरिकाकी लेआ आफ्नो श्रीमान्‌ विलियमसँगै अल्बेनिया सरिन्‌। तिनी भन्छिन्‌: “यहाँ सेवा गरेर हामीले नयाँ तरिकामा सोच्न र जीवन जिउन सिकेका छौँ। हामीले अतिथिसत्कार, आदर र मित्रताबारे थुप्रै कुरा सिक्न सकेका छौँ। हामीले साक्षी दिने, बाइबलबाट तर्क गर्ने र आफ्नो मनमा लागेको कुरा व्यक्‍त गर्ने नयाँ तरिकाहरू पनि सिकेका छौँ।” विलियम भन्छन्‌: “अल्बेनिया घुम्न आउने धेरैजसो मानिसलाई यहाँ सुन्दर समुद्र किनारा धेरै मन पर्छ। मलाई अल्बेनियाको चट्टाने पहाडहरूमा पैदल यात्रा गर्न निकै मन पर्छ। तर मलाई यहाँ बस्न मन पर्नुको खास कारण यहाँका मानिसहरू नै हुन्‌। हाम्रो इलाकामा पर्ने थुप्रै गाउँका मानिसहरूले विशेष अभियानहरूको बेला मात्र सत्यबारे सुन्‍न पाएका थिए। त्यहाँ कहिलेकाहीँ त दुई-तीन वटा घरमा कुरा गरेरै दिन बित्छ।”

विलियम र लेआ

 यी जोसिला साक्षीहरूलाई सबैभन्दा धेरै आनन्द दिने कुरा भनेको मानिसहरूले सुसमाचारप्रति देखाउने सकारात्मक प्रतिक्रिया हो। (१ थिस्सलोनिकी २:१९, २०) अल्बेनिया सरेकी एक जवान अविवाहित बहिनी लोरा यसो भन्छिन्‌: “मैले फिएरमा केही समय सेवा गरेँ। साढे दुई वर्षभित्रै १२० जना नयाँ प्रकाशक थपिए! तीमध्ये १६ जनालाई मैले अध्ययन गराएकी थिएँ।” अर्की बहिनी स्यान्ड्रा यसो भन्छिन्‌: “मैले बजारमा काम गर्ने एउटी महिलालाई साक्षी दिएकी थिएँ। पछि उहाँ साक्षी हुनुभयो र आफ्नो गाउँमा बसाइँ सर्नुभयो। पछिल्लो पटक उहाँसित कुरा गर्दा उहाँले १५ जनालाई बाइबल अध्ययन गराउँदै हुनुहुन्थ्यो।”

लोरा

स्यान्ड्रा

यहोवा तिनीहरूको लगनशीलतामा आशिष्‌ दिनुहुन्छ

 वर्षौँअघि अल्बेनिया सरेका केही साक्षी अहिले पनि आनन्दित हुँदै त्यहाँ सेवा गरिरहेका छन्‌। तिनीहरूले सुरुमा छरेको बिउ लामो समयपछि बढेर फल फलाएको देख्दा तिनीहरू तीनछक पर्छन्‌। (उपदेशक ११:६) अघि उल्लेख गरिएका क्रिस्टोफर भन्छन्‌: “मैले एकदिन अल्बेनिया सरेको सुरु-सुरुतिर मसित बाइबल अध्ययन गरेको एक जना व्यक्‍तिलाई भेटेँ। हामीले बाइबलबारे गरेको एक-एक कुरा उहाँलाई अझै पनि याद रहेछ; यसले मेरो मनै छोयो। अहिले उहाँ र उहाँकी श्रीमती यहोवाको साक्षी भइसक्नुभएको छ।” अघि उल्लेख गरिएकी फेडेरिका भन्छिन्‌: “एउटा मण्डलीमा एक जना बहिनीले ‘मलाई चिन्‍नुहुन्छ’ भनेर सोध्नुभयो। मैले उहाँलाई नौ वर्षअघि साक्षी दिएको रहेछु। अर्को सहरमा सरेको केही समयपछि उहाँले बाइबल अध्ययन सुरु गर्नुभएको रहेछ र पछि बप्तिस्मा गर्नुभएछ। अल्बेनिया सरेको सुरु-सुरुका वर्षहरू खासै फलदायी भएन जस्तो लाग्थ्यो तर मेरो सोचाइ गलत थियो!”

 अल्बेनिया र कोसोभो सरेका भाइबहिनीहरू यहोवाले तिनीहरूको मेहनतमा आशिष्‌ र इनामदायी जीवन दिनुभएकोमा कृतज्ञ छन्‌। अल्बेनियामा थुप्रै वर्ष सेवा गरेका एलिसियो आफ्नो अनुभव यसरी बताउँछन्‌: “प्रशस्त धनसम्पत्ति छ भने भविष्य सुरक्षित हुन्छ भन्‍ने संसारको सोचाइले हामीलाई सजिलै असर गर्न सक्छ। तर त्यो एउटा भ्रम मात्र हो। वास्तवमा यहोवाको सिद्धान्तअनुसार जीवन बिताउँदा मात्र हामीले जीवनको सही उद्देश्‍य र सुरक्षित भविष्य पाउन सक्छौँ। आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्दा मैले यो कुरा सम्झिरहन सकेको छु। म यहोवाको लागि उपयोगी छु अनि उहाँ मेरो सेवाको कदर गर्नुहुन्छ। मैले एउटै लक्ष्य भएका साँचो साथीहरू पाएको छु।” स्यान्ड्रा भन्छिन्‌: “आवश्‍यकता धेरै भएको ठाउँमा सर्दा यहोवाले मेरो लामो समयदेखिको मिसनरी हुने धोको पूरा गरिदिनुभएको महसुस गरेँ। अल्बेनिया सरेकोमा मलाई कुनै पछुतो छैन। म पहिलेभन्दा निकै आनन्दित छु।”

^ अल्बेनियाको साक्षीकार्यको इतिहासबारे अझ धेरै जान्‍न यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २०१० (अङ्‌ग्रेजी) हेर्नुहोस्‌।

^ कोसोभो अल्बेनियाको उत्तर-पूर्वमा अवस्थित छ। यस क्षेत्रका धेरैजसो मानिस अल्बेनियन भाषा बोल्छन्‌। अल्बेनिया, अमेरिका र केही युरोपेली देशका साक्षीहरू कोसोभोका अल्बेनियन भाषीहरूलाई सुसमाचार सुनाउन त्यहाँ बसाइँ सरे। सन्‌ २०२० सम्ममा त्यहाँका आठ वटा मण्डली, तीन वटा समूह र दुई वटा पूर्व-समूहमा २५६ जना प्रकाशक सेवा गर्दै थिए।