सीधै सामग्रीमा जाने

के यहोवाका साक्षीहरूको आफ्नो छुट्टै बाइबल छ?

के यहोवाका साक्षीहरूको आफ्नो छुट्टै बाइबल छ?

 यहोवाका साक्षीहरू बाइबलको अध्ययन गर्दा विभिन्‍न बाइबल अनुवाद प्रयोग गर्छन्‌। बाइबल थुप्रै भाषामा उपलब्ध भए तापनि हामी विशेषगरि पवित्र बाइबल—नयाँ संसार अनुवाद प्रयोग गर्न मन पराउँछौं। किनभने यसमा परमेश्‍वरको नाम उल्लेख गरिएको छ। साथै यो सही अनि बुझ्न सजिलो छ।

  •   परमेश्‍वरको नामको प्रयोग। बाइबलका केही प्रकाशकले बाइबलको मुख्य लेखकको आदर गर्न चुकेका छन्‌। जस्तै, एउटा बाइबल अनुवादमा बाइबल प्रकाशित गर्न योगदान पुऱ्‍याउने ७० जनाभन्दा धेरै व्यक्‍तिको नाम छापिएको छ। तर सोही बाइबलमा यसका मुख्य लेखक यहोवा परमेश्‍वरको नाम भने कतै उल्लेख गरिएको छैन!

     मौलिक भाषाको बाइबलमा परमेश्‍वरको नाम हजारौं पटक उल्लेख गरिएको छ। नयाँ संसार अनुवाद-ले मौलिक भाषाको बाइबलमा परमेश्‍वरको नाम जहाँ-जहाँ थियो, त्यहाँ-त्यहाँ पुनर्स्थापित गरेको छ। अनि अनुवाद समितिका सदस्यहरू कसैको पनि नाम खुलाएको छैन।

  •   सही। थुप्रै बाइबल अनुवादले बाइबलको मूल सन्देशलाई सही तरिकामा अनुवाद गरेको छैन। जस्तै, एउटा बाइबलमा मत्ती ७:१३ लाई यसरी अनुवाद गरिएको छ: “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गतिर पुऱ्‍याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ अनि ढोका पनि फराकिलो छ।” तर मौलिक भाषाको बाइबलमा “नर्क” होइन, “विनाश” भनेर उल्लेख गरिएको छ। नरकको शिक्षामा विश्‍वास गर्ने भएकोले अनुवादकहरूले बाइबलमा “नर्क” भन्‍ने शब्द घुसाएका हुन सक्छन्‌। तर बाइबलले यस्तो कुरा सिकाउँदैन। मत्ती ७:१३ लाई नयाँ संसार अनुवाद-ले यसरी सही तरिकामा अनुवाद गरेको छ, “साँघुरो ढोकाबाट भित्र पस, किनकि विनाशतर्फ लैजाने बाटो फराकिलो र खुल्ला हुन्छ।”

  •   बुझ्न सजिलो। अनुवाद राम्रो हुन सही भएर मात्र पुग्दैन, स्पष्ट अनि बुझ्न सजिलो पनि हुनुपर्छ। जस्तै, पावल नाम गरेका बाइबलका एक लेखकले रोमी १२:११ मा एउटा अभिव्यक्‍ति प्रयोग गरे, जसको शाब्दिक अनुवाद हुन्छ, “आत्मा उम्लेसम्म”। यस अभिव्यक्‍तिले भन्‍न खोजेको कुरा के हो, बुझ्न गाह्रो छ। त्यसैले नयाँ संसार अनुवाद-ले यसलाई सजिलो तरिकामा यसरी अनुवाद गरेको छ: “पवित्र शक्‍तिले भरिएर जोसिलो होओ।”

 नयाँ संसार अनुवाद-को अर्को विशेष पक्ष पनि छ। त्यो हो, निश्‍शुल्क वितरण। निश्‍शुल्क वितरण गरिएकोले लाखौं मानिसले आफ्नै भाषामा बाइबल पढ्‌न पाएका छन्‌, बाइबल किन्‍न सक्ने अवस्था नभएकाहरूले समेत।