सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

भजन ३७:४—“परमप्रभुमा आनन्दित होऊ”

भजन ३७:४—“परमप्रभुमा आनन्दित होऊ”

 “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ अनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ।”​—भजन ३७:४, नयाँ संसार अनुवाद।

 “परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।”​—भजन ३७:४, नयाँ संशोधित संस्करण।

भजन ३७:४ को अर्थ

 भजनरचयिताले परमेश्‍वरका उपासकहरूलाई उहाँसित घनिष्ठ मित्रता गाँस्न पाएकोमा आनन्दित हुन आग्रह गरे। यहोवा a परमेश्‍वरसित घनिष्ठ सम्बन्ध राख्नेहरूको उचित इच्छा उहाँले पूरा गरिदिनुहुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ।

 “यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ।” यस अभिव्यक्‍तिलाई “यहोवामा औधी रमाऊ,” “परमप्रभुको सेवा गर्न पाएकोमा हर्षित होऊ” वा “परमप्रभुले तिमीसित गर्नुभएको प्रतिज्ञाको कारण हर्षित होऊ” भनेर पनि अनुवाद गर्न सकिन्छ। सरल तरिकामा भन्‍नुपर्दा साँचो परमेश्‍वरको सेवा गर्न पाएकोमा हामी साँच्चै आनन्दित हुन सक्छौँ। हामी किन त्यसो भन्‍न सक्छौँ?

 यहोवाका उपासकहरूले जुनसुकै मामिलालाई उहाँको नजरले हेर्ने प्रयास गर्छन्‌ र उहाँको दृष्टिकोण बुझ्न बाइबलले मदत गर्छ। परमेश्‍वरलाई चिन्‍नुका साथै उहाँप्रति आज्ञाकारी हुनु पनि महत्त्वपूर्ण छ भनेर तिनीहरूलाई थाह छ। नतिजास्वरूप तिनीहरूले सफा अन्तस्करण कायम राख्न सक्छन्‌ अनि गल्ती र गलत निर्णय गर्नदेखि जोगिन्छन्‌। (हितोपदेश ३:५, ६) उदाहरणको लागि, दुष्ट वा छली मानिस सफल हुँदा तिनीहरू रिसाउँदैनन्‌ वा ईर्ष्या गर्दैनन्‌। (भजन ३७:१, ७-९) बरु यहोवाले यी सबै अन्याय चाँडै हटाउनुहुनेछ र वफादार उपासकहरूलाई तिनीहरूको असल चालचलनको लागि इनाम दिनुहुनेछ भन्‍ने कुरा थाह पाउँदा खुसी हुन्छन्‌। (भजन ३७:३४) साथै तिनीहरू स्वर्गका बुबा यहोवाको अनुमोदन छ भनेर थाह पाउँदा आनन्दित हुन्छन्‌।​—भजन ५:१२; हितोपदेश २७:११.

 “उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ।” यो अभिव्यक्‍तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ: “उहाँले तिम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ” वा “उहाँले तिम्रो मनैदेखिको चाहना पूरा गरिदिनुहुनेछ।” हुनत हामीले मागेको सबै कुरा यहोवाले दिनुहुन्‍न तर मायालु आमाबुबालाई जस्तै उहाँलाई आफ्ना छोराछोरीको हित केमा छ भनेर राम्ररी थाह छ। यसबाहेक हाम्रो बिन्ती र जीवनशैली उहाँको सिद्धान्त र इच्छासित मेल खानुपर्छ। (हितोपदेश २८:९; याकुब ४:३; १ युहन्‍ना ५:१४) तब मात्र “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर”-ले हाम्रो बिन्ती सुन्‍नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्नेछौँ।​—भजन ६५:२; मत्ति २१:२२.

भजन ३७:४ को प्रसङ्‌ग

 भजन ३७ प्राचीन इस्राएलका राजा दाउदले रचेका थिए। तिनले यो भजन हिब्रू वर्णमालाको क्रमअनुसार लेखेका थिए। b

 दाउद थुप्रै चोटि अन्यायको सिकार भए। तिनी आफ्नो ज्यान जोगाउन साउल र अरूदेखि भाग्दै हिँड्‌नुपरेको थियो। (२ समुएल २२:१) तैपनि तिनले सधैँ यहोवामा पूर्ण भरोसा राखे। तिनलाई यहोवाले कुनै न कुनै दिन ती दुष्टहरूसित लेखा लिनुहुनेछ भनेर थाह थियो। (भजन ३७:१०, ११) तिनीहरू “हरियो घाँसजस्तै” सप्रिएको जस्तो देखिए तापनि अन्ततः बिलाएर जाने थिए।​—भजन ३७:२, २०, ३५, ३६.

 भजन ३७ मा यहोवाको स्तरअनुसार चल्ने मानिसहरू र नचल्ने मानिसहरूलाई के हुनेछ भन्‍नेबारे तुलना गरिएको छ। (भजन ३७:१६, १७, २१, २२, २७, २८) त्यसैले यस भजनले हामीलाई बुद्धि प्राप्त गर्न र यहोवाले अनुमोदन दिनुहुने किसिमको मानिस बन्‍न मदत गर्छ।

 भजनसङ्‌ग्रहको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a यहोवा नेपाली भाषामा परमेश्‍वरको नाम हो, जुन हिब्रू भाषाबाट अनुवाद गरिएको हो। धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नामको सट्टा “प्रभु”-जस्ता पदवीहरू प्रयोग गरिनुको कारणबारे बुझ्न “यहोवा को हुनुहुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

b यस शैलीमा पहिलो हरफ वा केही हरफ हिब्रू वर्णमालाको पहिलो अक्षरबाट अनि त्यसपछिको भाग दोस्रो अक्षरबाट सुरु गरिन्थ्यो। यसरी वर्णानुक्रममा हरफहरू लेखेर भजन रचिन्थ्यो। सम्भवतः यस शैलीले गर्दा मानिसहरूलाई भजन सम्झिन सजिलो हुन्थ्यो।